नेताहरूलाई फूलमाला मोह यतिसम्म बढेछ कि मालाले एउटा नेतालाई बिरामी बनाएर अस्पतालमा नै भर्ना भए

Uncategorized

‘मलाई एउटा कुरा भन्नु छ । कुनै पनि सभामा प्रमुख अतिथि, अतिथि बोलाइन्छ । स्वागतका निम्ति फूलगुच्छा चाहिन्छ । एउटा फूलगुच्छा भए पुग्छ । धेरैवटा माला, खादा आवश्यक छैन । एक जना जो अगाडि हुन्छ, उसले एउटा पुष्पगुच्छा दिने र बाँकीले नमस्कार गरे पुग्यो । धेरै खर्च किन गर्नुपर्‍यो ?’

२८ असार ०७३ मा त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाको बैठकमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका त्रिविका कुलपति केपी शर्मा ओलीले व्यक्त गरेका वाक्यांश हुन्, यी । गला नै गल्ने गरी फूलमालाको भारी पहिराइदिने चुलिँदो चलनप्रति प्रधानमन्त्री छँदा चिन्तित देखिएका ओलीको बोली १७ महिनामै फेरियो । प्रतिनिधि र प्रदेशसभाको चुनावी कार्यक्रममा ओली जहाँ पुगे, फूलमालाले पुरिए । आफू मात्र होइन, चुनावी गठबन्धनका सारथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गला मिलाएर दुवैले एउटै विशाल माला धारण गरे, ३० कात्तिकमा पर्वतको कुश्मामा । त्यसअघि झापामा समेत ओली र प्रचण्ड एउटै लामो मालामा उनिएका थिए ।

नेताहरूमा फूलमाला मोह कतिसम्म बढेछ भने नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिरामी पर्नुको एउटा कारण समेत बनिदियो, गलाको माला । चुनावी प्रचारप्रसारका लागि धनुषा पुगेका निधि अचानक बिरामी परेपछि ११ मंसिरमा काठमाडौँ आएर अस्पताल भर्ना भएका थिए । निधिका पूर्वप्रेस सल्लाहकार रामजी दाहालका अनुसार उपचारमा संलग्न चिकित्सकहरूले निधिलाई फूलमालाको प्रयोग नगर्न सल्लाह दिएका छन् । “फूलमा स–साना किटाणुहरू बस्ने हुँदा रोगको संक्रमणबाट बच्न यस्तो सल्लाह दिएका हुन्,” उनले भने, “त्यसपछि उहाँ (निधि)ले फूलको माला लगाउनु भएको छैन ।”

यसपालिको चुनावमा देखिएको फूलमालाको तामझामले लोकतन्त्रको स्थापनापछि हामीले कस्तो संस्कारलाई बढावा दिइरहेका छौँ भन्ने उजागर गरिदियो । बहुसंख्यक नेताहरू विजयी भावमा घाँटीभरि माला लर्काएर उम्मेदवारी दर्ता गराउन पुगे । विजयी भएपछि उनीहरूको गला थेग्नै नसक्ने मालाको भारीले बेरिन थालेका छन् । कुनै कार्यक्रम उद्घाटन गर्न पुगेका नेता फूलमालाले पुरिएका दृश्य त सामान्य नै भइसके ।

नफेरिएको संस्कार

नेताहरूले मालामा कति धेरै आशक्ति देखाउँछन् भन्ने छनक बुझ्न रामेछापको एउटा उदाहरण काफी छ । नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार कान्छाराम तामाङलाई २१ र ८५ किलोको माला लगाइदिएको एक साता नबित्दै १ मंसिरमा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार श्यामकुमार श्रेष्ठ र प्रदेश ‘क’का शान्तिप्रसाद पौडेलले २१/२१ किलोको माला पहिरिए ।

कार्यक्रमहरूमा फूलमालाको अत्यधिक प्रयोग बढ्दै जाँदा व्यवस्था फेरिए नेताहरूको संस्कार उस्तै रहेको भन्दै जनस्तरमा विरोध भएपछि केही पार्टी र नेताहरूले यस्तो चलन बदल्ने/बदलिने घोषणा नगरेका होइनन् । तर, यस्तो संस्कार घट्नुको सट्टा फैलँदै गएको छ । गत ९ देखि ११ माघमा नेकपा एमालेको जनवर्गीय मोर्चा/संगठनद्वारा पोखरामा आयोजना गरेको राष्ट्रिय भेलाले सार्वजनिक कार्यक्रम तडकभडकविहीन बनाउने घोषणापत्र नै सार्वजनिक गर्‍यो, जसमा वजनदार माला नलगाउने पनि थियो ।

कांग्रेसका नेता गगन थापाले पनि स्वास्थ्यमन्त्री हुनासाथै फूलमालाले घाँटी भद्दा नपार्ने वचन सार्वजनिक गरेका थिए । तर, उनले असोज ०७३ मा नेपालगन्जमा ५१ किलोको माला पहिरिए । यसको विरोध भएपछि थापाले आफूलाई जबरजस्ती माला लगाइदिएको प्रस्टीकरण दिनुपरेको थियो । यद्यपि, उनले तीन महिनापछि नै उदयपुरमा पुगेर अर्को विशाल माला पहिरिए ।

विद्यालयको कार्यक्रममा पुग्ने राजनीतिक पाहुनाले ठूलो माला पहिरिने होडबाजी चल्न थालेपछि शिक्षा विभाग नै त्यसलाई रोक्न उत्रनुपर्‍यो । १० चैत ०७२ मा विभागले विद्यालयको औपचारिक कार्यक्रममा आमन्त्रित अतिथिको ‘स्वागत तथा बिदाइमा मालैमालाले गला ढाक्ने गरी स्वागत नगर्न’ सर्कुलर नै जारी गरेको थियो । तर, विभागको सर्कुलरले समेत काम गरेन । बरू, सरकारका मन्त्री नै विद्यालयमा पुगेर ठूलो माला लगाउने क्रम चलिरह्यो । गत माघमा तत्कालीन उपप्रधान एवं गृहमन्त्री निधि पर्वतको सहिद स्मारक आवासीय माविको रजत जयन्ती उद्घाटन गर्न पुग्दा विशाल माला लगाएर फर्किए ।

सामन्ती संस्कारको पुनरावृत्ति

नेपाली सामाजमा फूलमालालाई खुसी, उत्सव, उल्लास, सौन्दर्य र सम्मानको प्रतीक मानिन्छ । देवी–देवतालाई फूल चढाउने परम्परा छ । फूलले शोभा बढाउने ठानिन्छ । तर, समाज बदल्ने अगुवा नेताहरूको अस्वाभाविक फूलमाला धारणले फूलको असली सौन्दर्य मात्रै छोपिँदै गएको छैन, लोकतन्त्रको सौन्दर्य नै मर्दै गएको भान हुन्छ । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालका अनुसार लोकतन्त्रमा नेताहरू सम्मानित हुन्छन्, पूज्य हुँदैनन् । “लोकतन्त्रमा जनताले नेताको पूजा गर्दैनन्, प्रश्न गर्छन्, सम्मान गर्छन् । पूजा र सम्मान फरक कुरा हुन्,” उनी भन्छन्, “नेताको पूजा गर्नु लोकतन्त्रविपरीत कुरा हो ।”

समाजमा अरूभन्दा अलग देखिन, आफ्नो प्रभुत्व प्रदर्शन गर्न नेताहरूले धेरै तौलको फूलमाला लगाउने होड छ । झनै धर्मकर्म र पूजामा विश्वास नगर्ने भौतिकवादी राजनीतिक दर्शन बोकेका कम्युनिस्टहरू नै यस्तो प्रतिस्पर्धामा अगाडि छन् । ०६२/६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादीका नेताहरू सार्वजनिक हुँदा नै धमाधम फूलमाला पहिरिएर देखिन थाले । यसपछि नै राजनीतिक वृत्तमा फूलको माला प्रयोग प्रचुर मात्रामा बढ्न थालेको हो । जबकि, ०४६ को परिवर्तनपछि यस्तो दृश्य देखिएको थिएन । त्यतिबेला अबिरको मात्र प्रचलन थियो । तर, राजतन्त्रकालमा राजाहरूको सवारी र पण्डितहरूको महायज्ञमा पनि फूलमालाको व्यापक खपत हुन्थ्यो ।

राजनीतिज्ञ एवं पूर्वमन्त्री राधाकृष्ण मैनालीका अनुसार १७ हजार मानिस मरेको घटनाको एउटा पक्ष भूमिगत पार्टी माओवादीका नेताहरू आफूलाई ठूलो मानिस त ठान्थे तर छद्म नाम राखेकाले कसैले नचिन्ने अवस्थाका कारण सार्वजनिक जीवनमा आउँदा उनीहरूमा हीनताबोध पलायो । “हीनताबोध छोप्न र आफूलाई चिनाउन माओवादीले फूलमाला संस्कृति व्यापक बनाएको हो,” उनी भन्छन्, “यसलाई अन्य पार्टीका नेताले समेत अनुसरण गर्न थालेपछि यो राजनीतिको अभिन्न अंगजस्तै बन्न पुगेको छ । ठूलो नेताको एउटा मानक मालाको आकार र तौल बन्यो, जुन विडम्बना हो ।”

गणतन्त्रकालमा बनेका कम्युनिस्ट प्रधानमन्त्री जम्मैले बढी तौलको माला पहिरिएर कीर्तिमान राखे । यस अवधिमा कम्युनिस्ट नेतृत्वमा ६ वटा सरकार बने, जसमध्ये सबैले भीमकाय माला गलामा थापे । प्रचण्ड, ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई लोकतन्त्र स्थापनापछि बनेका कम्युनिस्ट प्रधानमन्त्री हुन् । दाहाल त दोहोर्‍याएरै प्रधानमन्त्री भए । उनीहरू सबैले ओजनदार माला पहिरिन छुटाएनन् (हेर्नूस्: माला ‘मेनिया’) । “कम्युनिस्ट, समाजवादी भन्नेहरूले नै आफूलाई पूजनीय रूपमा हेर्‍यो भने कहाँ लोकतन्त्र बाँकी रहन्छ ? हिजो देउतालाई अक्षता चढाउँदा अन्न खेर गयो भनेर आलोचना गर्नेहरूले यत्रो फूल बोकेर हिँड्दा खेर गएन ?,” प्राध्यापक खनाल भन्छन्, “फूलमाला पहिरिने कार्य र राजनीतिक सिद्धान्त, दर्शनबीच ठूलो विरोधाभास छ ।”

कांग्रेस, मधेसवादी दलका नेताहरू पनि मालाको मोहबाट पछाडि छैनन् । मानवशास्त्री सुरेश ढकाल नेताहरूबीच देखिएको फूलमालाको प्रतिस्पर्धालाई सामन्ती संस्कारको पुनरावृत्ति मान्छन् । भन्छन्, “किनभने माला लगाइदिनेले आफू कति ठूलो चाकडवाज छु भन्ने देखाउन र लगाउन चाहनेले चाहिँ आफू कति प्रभावकारी छु भनेर देखाउने भएकाले यो सामन्ती संस्कारको पुनरावृत्ति हो ।”

लोकतन्त्रमा नेताहरूबाट दम्भकारी सामन्ती संस्कार त्यागेर लोकतान्त्रिक चरित्र अनुरूपका व्यवहार, संस्कारको अपेक्षा स्वाभाविक रूपमा गरिन्छ । तर, नेताहरूको व्यवहारले भने त्याज्य कुरालाई पूज्य बनाउँदै लगेको देखिन्छ । मूल्य, सिद्धान्त, व्यवस्था एकातिर र व्यवहार अर्कोतिर बन्नु विडम्बना नै मान्नुपर्छ । प्राध्यापक खनाल भन्छन्, “नेताहरू समाजमा दास संस्कार निर्माण गरिरहेका छन् ।”

– ekhabarchautari बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *